श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ (पहिलो संशोधन-२०६४) को दफा ११ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भएको हो। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट २०६४ भदौ २८ गते सूचना तथा सञ्चार मन्त्रालयले समिति गठन भएको सूचना सार्वजनिक गर्यो। सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो न्यूनतम पारिश्रमिक रकम आवश्यकताअनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिश गर्ने ऐनबमोजिमको उद्देश्यले यो समिति गठन भएको हो। समितिलाई सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार छ। यसरी न्यूनतम पारिश्रमिक निर्धारण गर्दा उनीहरूको पद र त्यस्तो पदको तहगत वर्गीकरणसमेत गर्नुपर्ने जिम्मेवारी तोकिएको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा
पत्रकार महेन्द्र विष्ट नियुक्त हुनुभएको छ। नेपाल
सरकार (मन्त्रीस्तर) को मिति २०६६ कात्तिक १८ गतेको
निर्णयबमोजिम उहाँ २ वर्षका लागि नियुक्त हुनुभएको
हो। नवनियुक्त अध्यक्ष विष्टले कात्तिक १९ गतेदेखि
पद वहाली गर्नुभएको छ। नेपाल पत्रकार महासंघको महासचिव
र प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य रहिसक्नु
भएका अध्यक्ष विष्ट पछिल्लो समयमा इमेज च्यानलको
समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ
करिब २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील
हुनुहुन्छ।
नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०६६।९।१२
को निर्णयबमोजिम समितिका सदस्यहरुको नियुक्ति पनि
भएको छ।